भैरहवा । सिद्धार्थनगरकी नन्दा गुरुङ नयाँ नोट लिएर हर्षित मुद्रामा राष्ट्र बैकमा भेटिन्छिन । हातमा नयाँ नोटको विटो बोकेकी गुरुङ खुशी देखिनुको कारण हो, सजिलै नयाँ नोट पाउनु ।
"विगतका वर्षमा घण्टौं लाइन बसेर जसोतसो नयाँ नोट दशैं तिहारका लागि साटिन्थयो । अहिले यति सजिलो गरी आएको केही मिनटमै नयाँ नोट पाएकोले खुशी छु," उनी भन्छिन् ।
भैरहवाकै टोपबहादुर सारु पनि ९ हजार नयाँ नोट साटेर व्यागमा राख्दै गरेको अवस्थामा भेटिए । दम्पत्तिसँगै आएका सारु पैसा लिएर एक आपसमा मुस्कुराउदैं गेटबाट निस्किए । "अहिले सजिलै पाइएको रहेछ," उनले भने ।
यस्तै ७० वर्षीय हरि बस्याल पनि छोरा नातीलाई दक्षिणा दिनका लागि नयाँ नोट साट्न बैक आएका रहेछन् । "वर्ष दिनको चाडपर्व हो । दक्षिणा दिन र पूजामा प्रयोग गर्नका लागि नयाँ नोट साट्न आएको हो," पैसा खल्तितिर राख्दै बस्याल मुस्कुराए ।
यी दृष्य हुन्, नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयको । यहाँ नयाँ नोट वितरण हुदै छ । आएका सबै प्रतिनिधीहरुलाई सजिलै नोट पाइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले हिन्दूहरुको पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागले तोकेको मापदण्ड अनुसार सर्वसाधरणका लागि असोज ४ गतेदेखि नोट वितरण गरेकोे हो । गत वर्ष कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले बैकले यस वर्ष दशैको तीन साता अघिबाट नै नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।
दशैको विदा हुनु भन्दा अघिल्लो दिन सम्म राष्ट्र बैकले पैसा साट्ने व्यवस्था गरेको छ । सिद्धार्थनगर अन्तर्गत पर्ने ९ जिल्ला मध्ये रुपन्देहीमा राष्ट्र बैक स्वयमले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरू मार्फत नयाँ नोट वितरण भइरहेको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका कामु निर्देशक, जीवन प्रकाश पाण्डेले बताए ।
अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट साटिने छ । बैकले यस अघि भदौ दोस्रो साताबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब १५ करोड नयाँ नोट बाँढिसकेको छ । त्यस्तै परासीमा ४० करोड नयाँ नोट कोषमा पठाइसकेको कामु निर्देशक पाण्डेले बताए ।
"नेपाल राष्ट्र बैक सिद्धार्थनगरले सर्वसाधारणलाई असोजको ४ गते देखि दशै सम्म नोट साट्ने व्यवस्था गरेको छ, नयाँ नोटको मौज्दात यथेष्ट रहेकोले अभाव छैन, माग अनुसार नोट साट्न सकिन्छ," उनले भने ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको छ । भिडभाड नहोस भन्नका लागि नयाँ नोट वितरण सहज गरेको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले राष्ट्र बैंकले विगतका वर्षहरुबाट नै नयाँ नोट वितरण गर्दै आएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट गरी १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने छन् । भैरहवा कार्यालयबाट स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेर नयाँ नोट साट्न कार्य जारी छ ।
प्रादेशिक कार्यालय सिद्धार्थनगरले स्वयम दैनिक विहान १० वजे देखि ४ वजे सम्म २ वटा काउण्टरबाट सेवा दिइरहेको छ । एउटा काउन्टरबाट प्याकेट नोट वितरण भइरहेकोछ भने अर्को काउन्टरबाट प्याकेट फोडेर नयाँ नोट साट्ने व्यवस्था मिलाएको बैकका सहायक निर्देशक रमेश न्यौपानेले बताए ।
कोही पनि नयाँ नोट पाउनबाट बञ्चित नहोस भन्ने उद्देश्यले जति चाहियो त्यति नोट पनि साट्न सकिने गरी हामीले व्यवस्थापन गरेका छौ । कुपन टोकन सिस्टमबाट स्वास्थ्य मापदण्ड पालन गरेर पैसा साट्ने व्यवस्था छ, भिडभाड हुनासाथ काउन्टर थप गरेर सेवा दिन्छा सहायक निर्देशक न्यौपानेले भने ।