काठमाडौ-अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई व्यक्तिगत स्तरमा उत्रेर कुनै पनि प्रकारको गाली वा दूर्व्यहार नगर्न आग्रह गरेका छन् । हमालले आफ्ना समर्थक दर्शकलाई दीपाश्रीलाई माफी दिन आग्रह गरेका हुन् ।
दीपाश्रीले केही समयअघि एक अन्तर्वार्ताको क्रममा राजेश हमाललाई दिइएको महानायक उपाधिमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा दीपाश्रीको चर्को विरोध गरेका थिए हमालका फ्यानहरुले । दीपाश्रीले माफी मागे पनि सो क्रम रोकिएको थिएन ।
व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफू अति तनावको अवस्थामा पुगेको र मनोसामाजिक समस्या नै देखिने हो कि भन्ने चिन्तामा रहेको बताएकी थिइन् ।
विवादले खराब दिशा लिएपछि अभिनेता हमालले अन्ततः त्यसलाई साम्य पार्नका लागि आफ्नो तर्फबाट प्रयास गरेका छन् । उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आग्रहसहितको भिडियो सन्देश पोस्ट गरेर ‘सम्बन्धित व्यक्तिलाई माफी’ दिन सबैसँग आग्रह गरेका हुन् ।
भिडियोमा हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’