बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनै बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नयाँ बजेट प्रस्तुत गरेका हुन्।
आर्थिक मामिला मन्त्री खड्काले चालू आर्थिक वर्ष २०७८/७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक गरेका छन्। यो पूर्ववर्ती सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको जत्तिकै बजेट हो।
नयाँ बजेटमा चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रतिशतका आधारमा कूल बजेटको चालुतर्फ ३३.३१ प्रतिशत र पूजीगततर्फ ५४.८७ प्रतिशत हुन आउँछ।
त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। सरकारले नयाँ बजेटमा चालु खर्चतर्फ १ अर्ब २९ करोड १६ लाख रुपैयाँ कटौती गरेको छ भने पूँजीगत तर्फ १ अर्ब २९ करोड १६ लाख बढाएर नयाँ बजेट ल्याएको छ।
आर्थिक मामिला मन्त्री खड्काले प्रस्तुत गरेको बजेट आजै पारित गर्ने सरकारको तयारी छ। त्यसका लागि सभामूख पूर्णबहादुर घर्तीले पाँच बजे प्रदेश सभा बैठक बोलाएका छन्।