भैरहवा– रुपन्देही मर्चवारको सम्मरीमाई गाउँपालिकाले धुवा र प्रदुषणरहित क्षेत्र बनाउन घरघरमा ग्यास सिलिण्डर वितरण गरेको छ। गाउँपालिकाले सो क्षेत्रमा पहिलो चरणमा १ हजार ५१ घरधुरीलाई ग्यास सहित सिलिण्डर वितरण गरेको हो।
लामो समय देखि दाउराबाट निस्किने धुँवाबाट क्षयरोग, दम, आँखासम्बन्धि रोगबाट प्रभावित हुनुका साथै आगलागीको जोखिम बढेकाले गाउँपालिकाले चरणबद्ध रुपमा कार्यक्रमम ल्याएको हो।
‘गाउँपालिका क्षेत्रलाई धुवा र प्रदुषणरहित बनाउनका लागि प्रत्येक घरधुरीहरुलाई ग्यास सिलिण्डर वितरण गर्छौं, माटोको चुल्होमा गुइठा, दाउराले खाना पकाउने महिला दिदिबहिनीको स्वास्थ्यमा समस्या देखिन थालेपछि सोको निराकरण र गाउँपालिकालाई प्रदुषणबाट केही हदसम्म रोक्न ग्यास सिलिण्डर वितरण गरिएको हो’–गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुले भने।
समयको बचत हुने र विभिन्न समस्याबाट बचाउने हुनाले अति आवश्यक ठानेर पहिलो चरणमा गाउँपालिकाको एउटा वडालाई लक्षित गरी ठूलो र बाक्लो बस्ती रहेको वडा नं. ६ बाट सुरुवात गरेकोे अध्यक्ष शुक्लाले बताए।
वडाका १४ सय भन्दा बढी घरधुरीलाई सिलिण्डर वितरण भइसकेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा ७ वटै वडा समेट्ने गरी ग्यास वितरण योजना बनाएको छ। जसले गाउँपालिका क्षेत्रका घरलाई प्रदुषणमुक्त र धुवाँरहित बनाउनमा सहयोग पु¥याउने गाउँपालिकाको विश्वास छ।
अधिकांश न्यून आयस्तरका समुदाय र आर्थिक अवस्था कमजोर भएका बासिन्दाहरुलाई खाना पकाउन दाउरा, गुइठा, परालका लागि दुःख भइरहेको अवस्थालाई हटाउन ग्याँस सिलिण्डर वितरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए। गाउँपालिकामा करिब ६ हजार घरधुरी छन्, ग्यास वितरणका लागि लगत संकलन भइसकेको छ। गाउँपालिकाले योजना बनाएर २ वर्षभित्र वितरण गर्ने प्रशासकीय अधिकृत भट्टराईले बताए।
‘उज्यालो सम्मरीमाई’ योजनामा सहयोग होस् भन्दै ५५ लाखको बजेट विनियोजन भएको थियो। गाउँपालिकाले ग्यास सिलिन्डर दिएपनि चुलो आफैले किन्नुपर्नेछ।