बुटवल। भारतको उत्तर प्रदेशका बौद्धस्थलमा धमाधम अन्तराष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन्। गौतम बुद्धले महानिर्वाण प्राप्त गरेको ऐतिहासिक कुशीनगरमा प्रधानमन्त्री नरेन्द्र मोदीले अत्याधुनिक अन्तराष्ट्रीय विमानस्थलको उद्घाटन गरिसकेका छन्।
युपीकै जेवरस्थित बुद्ध नगरमा अर्को अन्तराष्ट्रीय विमानस्थल निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएपछि बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएको युपीमा चार वटा ठूला अन्तराष्ट्रिय विमानस्थल हुनेछन्। बनारसको लालबहादुर शास्त्री र लखनउको चौधरी चरण अन्तराष्ट्रिय विमानस्थल पहिलेदेखि नै सञ्चालनमा थिए।
श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्ताष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो। बौद्धमार्गीहरुलाई लक्षित गरी युपीको पर्यटन विस्तार गर्न विमानस्थलले ठूलो भूमिका खेल्ने प्रधानमन्त्री मोदीले कार्यक्रममा बताएका थिए।
‘कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बौद्धधर्ममा आस्था राख्ने मानिसका लागि उपहार हो’, उद्घाटनको क्रममा मोदीले भने, ‘यो क्षेत्र भगवान बुद्धको ज्ञानप्राप्तिदेखि महापरिनिर्वाणसम्मको समग्र यात्राको साक्षी छ।’
यता नेपालले भैरहवामा समयमा नै विमानस्थल निर्माण गर्न नसक्दा त्यसको फाइदा भने भारतलाई हुने देखिएको छ। अहिलेकै अवस्थामा पनि लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन्। यस्तोमा भारतले लुम्बिनीबाट १३३ किमि दूरीमा विमानस्थल बनाएपछि यो संख्या झनै बढ्ने देखिएको हो।
भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे। यसले नेपाली टुर अपरेटर, होटलले प्रत्यक्षरुपमा बढी फाइदा लिन हुन्थ्यो।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनी 'स्याडो'मा पर्न सक्ने बताए। जोशीले भने, ‘नेपालले समयमा विमानस्थल सञ्चालन गर्न नसक्नु र उता भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ।'
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुशीनगर विमानस्थल १३३ किलोमिटर मात्रै टाढा छ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७१ मा सुरु भई २०७४ मा निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको थियो। हाल भौतिक पूर्वाधारको काम करिब पूरा हुँदा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) हुनसकेको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ। भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिंदा परिक्षण उडान हुन सकेको छैन।