बुटवल। लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ।
कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा संकलन गरिएको विवरण अनुसार चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको धानबालीमा क्षति भएको हो।
मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले प्रदेश भर कूल तीन लाख १७ हजार चार सय १४ मेट्रिक टन धानमा क्षति पुगेको जानकारी दिए।
मन्त्रालयका अनुसार रुपन्देहीमा सबैभन्दा धेरै क्षति पुगेको छ। रुपन्देहीमा ६७ हजार पाँच सय ५०, कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७ हजार नौ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बर्षाले क्षति पुर्याएको छ ।
त्यस्तै नवलपरासीमा २२ हजार सात सय १२, गुल्मीमा १० हजार दुई सय ४६, पाल्पामा आठ हजार नौ सय १०, अर्घाखाँचीमा आठ हजार तीन सय चार, प्युठानमा ६ हजार १४, रोल्पामा चार हजार सात सय ९२, रुकुममा दुई हजार ५८ हेक्टर क्षेत्रफलमा बेमौसमी बर्षाले धान बालीमा क्षति पुर्याएको छ ।
किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटिसकेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पुर्याएको प्रारम्भिक विवरण मन्त्रालयले सार्वजनिक गरेको हो।
किसानलाई राहत दिइने बारे छलफल भइरहेको मन्त्रालयका निमित्त सचिव भण्डारीले बताए।