बुटवल–बुटवलको पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको आडबाट दक्षिण तर्फ गएको अभियान पथ सडकलाई ४ लेनमा विस्तार गरिने भएको छ ।
बुटवल उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले उक्त सडकलाई ८२ फूट कायम गराउन प्रदेश सरकार मार्फत नेपाल सरकारका निकायहरुमा अनुरोध गरी पठाउने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको यो सडक हाल ५१ फूटको छ । सडकको पूर्वपट्टी पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र र नेपाली सेनाको मध्य पश्चिम पृतना छ ।
दक्षिण तर्फको तिलोत्तमा नगरपालिकाका साथै प्रस्तावित मेडिकल कलेज जानको लागि पहुँच र व्यस्त सडक भएकाले सडक विस्तार गर्न आवश्यक भएको उपमहानगरले जनाएको छ । बुटवल १० का वडाध्यक्ष पदमबहादुर थापाले प्रस्तावित मेडिकल कलेजलाई लक्षित गरेर ४ लेनमा सडक विस्तार गर्न पहल गर्ने निर्णय भएको बताए ।
‘चौराहदेखी अब बन्ने मेडिकल कलेजसम्मको लागि ४ लेन बनाउन प्रस्ताव गरेका छौं ।’ उनले भने ‘बनेपछि यसलाई मुख्य सडक भन्दा पनि हुन्छ । अथवा सिद्धार्थ राजमार्गको बाइपास सडकको रुपमा पनि लिन सकिन्छ ।’
अभियानपथको पश्चिमपट्टी घना बस्ती रहेकाले तालीम केन्द्र तथा सेनाको संरक्षणमा रहेको पूर्व तर्फको भाग विस्तार गर्न सकिने उपमहानगरको निर्णयमा उल्लेख छ । बुटवल १० का वडाध्यक्ष पदमबहादुर थापाले कालिकानगरका जनताले आफ्नो लालपुर्जा काटेर उक्त सडक बनेकाले अब पूर्व तर्फ मात्र विस्तार हुनुपर्ने बताए । ‘कालिकानगरका जनताको लालपूर्जाबाट चडक्क काटेर दिएको ५१ फूट हो । त्यसैले अब ८२ फूट बनाउँदा ३१ फूट जग्गा नेपाली सेनाले भोग चलान गरेको र प्रहरी तालिम केन्द्रले चर्चेको जग्गाबाट लिनुपर्छ भन्ने हाम्रो माग छ ।’ उनले भने ।
सडक विस्तारको लागि प्रहरीलाई मनाउन केही सहज देखीएपनि सेनाले भने सडकको दुबै तर्फ विस्तार हुनुपर्ने आसय व्यक्त गरेको छ ।
वडाध्यक्ष थापाले नेकपा महासचिव तथा रुपन्देही २ का सांसद विष्णु पौडेलले केन्द्रमा सेना र प्रहरीको नेतृत्वसँग पनि छलफल गरेको बताए ।
‘उहाँले प्रधानसेनापति र आइजीपीसँग एक चरण कुराकानी गरिसक्नुभएको छ ।’ उनले भने ‘प्रधानसेनापतिले बाटोको विच सेन्टरबाट प्वाइन्ट लिने र ८२ फूट बनाउँदा कति छोड्न पर्छ आफू राजी भएको बताउनुभयो ।’ वडाध्यक्ष थापाले अहिलेको ५१ फूट सडकको जग्गा कालिकानगरबासीको हो भनेर प्रमाण जुटाएर विष्णु पौडेल मार्फत सेनालाई बुझाउने जानकारी दिए ।