बुटवल-कपिलवस्तुमा ४ जना बैंकका कर्मचारीसहित थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सदरमुकाम तौलिहवामा ३ वटा बैंकका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तिनाउ मिसन, लक्ष्मी बैंक र मेघा बैंकका स्थानीय शाखामा कार्यरत ३ पुरुष र एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो। उनीहरु २५ देखि ३५ वर्ष सम्मका छन्। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ३ वटै बैंक सिल गरी अन्य कर्मचारीहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख कुमार थापाले जानकारी दिए।
त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिकामा ४ जनामा संक्रमण देखिएको छ। शिवराज १ मा २५ र ५५ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरु दुवै शिक्षक हुन्। त्यस्तै शिवराज ५ मा ३५ वर्षिय पुरुष र ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ। पुरुष मेडिकल सञ्चालक हुन्। कन्ट्रयाक्ट ट्रेसिङबाट संक्रमण देखिएको महिलाको छोरामा एक हप्ता अघि कोरोना पुष्टि भएको थियो।