बुटवल । महामानव भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढेको छ । धाम निर्माण कार्यक्रमको शनिबार विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुनः सुरुआत गर्नुभयो ।
धर्मगुरू रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माण महत्वाकांक्षी परियोजना हो । धाम निर्माणमा झन्डै ३० मिलियन डलर लाग्ने अनुमान छ । जसलाई ‘क्राउड फन्डिङ’ मार्फत उठाउने लक्ष्य लिइएको छ । शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य परियोजनाको हो ।
विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको बिगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ । समारोहमा गुरू रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको रोकिएको काम पुनः सुरूवात गरिएको बताउनुभयो । नेपाल भौतिक रुपमा कमजोर भएपनि संसारको सबै भन्दा धनी हुने स्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे । करोडौं विदेशीहरु भगवान् बुद्धको धर्मको लागि ललायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताउनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा.ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो सघाउ पु¥याउने उल्लेख गर्नुभयो ।
यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उहाँको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताउनुभयो । नेपालको लागि अमेरिकन राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पु¥याएको उल्लेख गर्नुभयो । विभिन्न विश्वास र धर्मका मानिसबिच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकलसँग र जेम्स स्टरलिंकलगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गर्नुभयो । ३ हजार ४०० वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ति धाम ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।