बुटवल । यस वर्षको उखुको समर्थन मूल्य तोकिएको छ । सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ कमय रहने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल) ले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ तोकेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले उखुको खरिद मुल्यतोक्न ढिला भएको गुनासो आएपछि बुधबार मात्रै मूल्य तोकिएको जानकारी दिनुभयो । सरकारले ६ सय ३५ रुपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको मन्त्री शर्माले बताउनुभयो ।
बैठकमा मुख्य सचिव बैकुण्ठ अर्यालले कार्य सम्पादनका क्रममा प्रक्रिया, इच्छाशक्ति, ऐन–कानुन र विधिमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराहरू प्रस्तुति दिएको पनि बताउनुभयो । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने पनि उनले जानकारी दिनुभयो ।