बुटवल । बुटवलमा आज (बिहीबार) देखि लुम्बिनी एक्स्पो–२०८० अर्थात् अन्तर्राष्ट्रिय व्यापार मेला सुरू हुँदै छ । व्यापारलाई आधुनिकीकरण र विशिष्टिकरण गर्ने उद्देश्यले आयोजित मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रुपन्देही व्यापार संघले जनाएको छ ।
बुटवल मण्डपमा निमार्णधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने एक्स्पोको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले शिथिल अर्थतन्त्रलाई मेलाले चलाएमान बनाउने विश्वास व्यक्त गर्नुभयो । एक्स्पो पुस ५ गतेदेखि सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार अपेक्षा गरिएको घिमिरेले बताए । एक्स्पोमा विभिन्न प्रकृतिका ६ सय स्टल सहभागी हुने उहाँले बताउनुभयो । कृषिको व्यवसायीकरण तथा आधुनिकीरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवामूलक, वैकल्पिक ऊर्जा र स्वदेशी उत्पादनका व्यवसायलाई प्राथमिकतामा राखिएको संघका अध्यक्ष तथा व्यापार मेला मूल आयोजक समतिका संयोजक घिमिरेले बताउनुभयो ।
एक्स्पोको अवलोकनका लागि टिकरदर ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि सहुलियतमा ५० रुपैयाँ तोकिएको छ । एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ ।