बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा खिया लाग्दै गइरहेको र नेपाललाई छड्के आँखाले हेर्ने प्रवृत्ति बढेको बताउनुभएको छ । देश बनाउनका लागि सबै एकै ठाउँमा उभिएर मिल्नुपर्ने उहाँको भनाइ थियो । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा शाहले बिहीवार भैरहवामा आयोजित कार्यक्रममा देश झन परनिर्भर र जर्जर बन्दै गएको बताउनुभएको हो ।
‘सबैले हेप्ने, छड्के आँखाले हेर्ने र आफूहरू अपमानित बन्दै गएको स्वाभिमानी नेपाली जनताको अनुभूति छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा बूढापाकाको विचार भन्नुपर्दा राष्ट्रको अस्थित्वमाथि खिया लाग्दै गइरहेको छ, हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं ।’ पूर्वराजा शाहले आफू जता पुग्दा पनि देश बनाऔं र बचाऔं भन्ने आवाज सुनिरहेको बताउनुभयो । ‘आज यहाँ उभिएर भन्दछु, म बोलिरहेको छु– देश बनोस्, बचोस् भन्ने पुख्यौली इच्छा आकांक्षा पोखिरहेको छु ।’ पूर्वराजा शाहले आफूले जनताका दुःख–पीडालाई नियालिरहेको बताउनुभयो । । ‘म कतै अन्त गएको छैन, सदासदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख दुःख, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको छु,’ उहाँले भन्नुभउो ।
बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले युवा जनशक्ति विदेशिनु परेको अवस्थाले देश जर्जर भएको पूर्वराजा शाहले चिन्ता व्यक्त गर्नुभयो । ‘देशको माया नभएर होइन अवस्था बिग्रेर, आक्रोश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ । देशमै उद्यम, इलमको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पारिरहने आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्दछ ।’
भैरहवामा बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी हुनुभएको थियो । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको छ ।
अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वतस्फूर्त हजारौ नागरिक भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका छन् । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा.रामप्रसाद बस्यालले जनता पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गर्नुभयो । पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराकोतर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राज संस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गर्नुभयो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आउनुभएको हो ।