बुटवल, पुस २० । राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढी किल्लालाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ ।
ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताउनुभयो । उहाँले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफुलाई खुशी लागेको बताउनुभयो ।
‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाहा गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँंग मिलेर जीतगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भरहेको जानकारी पाउँंदा थप खुसी लागेको छ ।’ उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले जीतगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनुभयो ।
उहाँले जीतगढीमा युद्धकालकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’
सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहाँसमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गर्नुभयो । उहाँे नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पार्नुभयो ।
नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो । ‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक–नागरिक सम्वन्ध विकासको राम्रो उदाहरण हो । गैर–राजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेकोछ । नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त संगठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ ।’
राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटी बनाउने जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफुले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले संघ सरकारले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिदा समस्या भइरहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले सघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गर्नुभयो । उहाँले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताउनुभयो ।
’यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’, प्रमुख पाण्डेयले भन्नुभयो । उहाँले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताउनुभयो । किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि बुटवल उपमहानगरपालिकाले योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोंचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्। उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताउनुभयो ।
बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि.सं. १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ ।