तिलोत्तमा । तिलोत्तमा–७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आइतबारदेखि लेक एक्स्पो–२०२४ सुरु हुने भएको छ । एक्स्पोबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले जानकारी दिए । विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पो दुई दिनसम्म चल्ने छ ।
कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट एक्स्पोमा प्रदर्शन गरिने छ । सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट तयार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलेजका सदस्य सचिव डा.के. एन. पाण्डेयले विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्राउन टेवा समेत पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए ।
क्सोपोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिने छन् । विद्यार्थीले बनाएका प्रोजेक्टहरु घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कार्यक्रम संयोजक इन्जिनियर विष्णुचन्द्र झाँले बताए । विद्यार्थीहरूले आफ्ना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकून् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्ट्वेयरको डिजाइन र विकास गर्न सकून् भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको उनले बताए ।
विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार गरेका छन् । १२ हजारले प्रोजेक्ट अवलोकन गर्ने कलेजको अपेक्षा छ । पत्रकार सम्मेलनमा इन्जिनियर कृष्णप्रसाद पराजुली, इन्जिनियर पंकज ठाकुर र सतिषकुमार कर्णले विद्यार्थीले तयार पारेका प्रोजेक्टका कामबारे जानकारी गराएका थिए ।
डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गर्दै आइरहेको थियो ।