परासी । भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले २९ लाख बराबरको औषधी बरामद गरेको छ । भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधी बरामद गरेको हो ।
प्रदेश नं. ३, ०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । बरामद भएका औषधीमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताउनुभयो । औषधिसँगै २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने वर्ष २९ को अभिषेक खरेल रहेका छन् ।
भारतमा धेरै नै सस्तोमा पाइने भएकाले भन्सार छलेर औषधी ल्याएको प्रहरीले जनाएको छ । उक्त औषधी काठमाण्डौं टिचिङ अस्पताल अगाडी रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।