बुटवल । नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनी हिँडेका सुदिप ज्ञवाली बेपत्ता हुनुभएको छ । यही पुस १२ गते काठमाडौंको धापासीबाट घर आउँदै छु भनि हिँडेका ३५ वर्षीय ज्ञवाली अझै सम्पर्कमा आउनुभएको छैन ।
ज्ञवालीले श्रीमती झरनालाई फोन गरी आफु घर आउन लागेको जानकारी गराउनुभएको थियो तर उहाँ कहाँ कस्तो अवस्थामा रहेको भन्ने अझैसम्म कुनै जानकारी नआएको परिवारले जनाएको छ । ज्ञवाली बेपत्ता भएपछि आफन्तले इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगन्जमा खोजी गरि पाँउ भनी निवेदन दिएका छन् ।
बुटवल उपमहानगरपालिका—१२ मा बस्दै आउनुभएका ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौ बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र छोरा भने बुटवलमै बस्दै आउनुभएको छ । ‘१२ गते साँझ ७ः१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, श्रीमती झरनाले भन्नुभयो । काठमाडौ बसपार्कमा बुझ्दा समेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको उहाँले बताउनुभयो ।
‘उहाँको परिवार, आफन्त र साथीभाइ सबैसँग राम्रो सम्बन्ध र व्यवहार थियो, घरमा कुनै झैझगडा समेत भएको थिएन, दिनहुँ छोरासँग फोनमा कुरा गरेर मात्र सुत्नुहुन्थ्यो, यतिका दिन कहाँ जानुभयो थाहै भएन’, श्रीमती झरनाले दुखेसो पोख्नुभयो ।
ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधी कम्पनीमा एमआरको रुपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइलले लोकेशन देखाएको थियो ।
‘हामीले ज्वाई हराएको सूचना जताततै दियौँ कतिले उहाँजस्तै मान्छे देखेर फोन पनि गर्नुहुन्छ तर हेर्न जाँदा अर्कै मान्छे हुन्छ, यसले अर्को तनाव थपिएको छ’, उहाँले भन्नुभयो ।