बुटवल । रुपन्देही व्यापार संघको आज २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सुरु हुँदै छ । दुईवर्षे कार्यकालको लागि साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । २०५७ सालमा स्थापनमा भएको संघमा अहिलेसम्म सहमतिमै नेतृत्व चयन भएपनि योपटक निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने देखिएको छ । अधिवेशनका लागि दुई समूह प्यानल नैं बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै समूह राजनीतिक हिसाबले नेकपा एमालेनिकट नै हुन् ।
नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दीपक अधिकारीले प्यानलसहित उम्मेदवारी दर्ता गर्नुभएको छ । भण्डारीले २०५७ सालमा संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हँुदै वरिष्ठ उपाध्यक्ष भएर काम गर्नुभएको थियो । अधिकारी २०६६ सालमा संघले व्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थाल्नुभएको हो । संघमा एमाले निकटकै व्यवसायीको बाहुल्य छ तर पार्टी निकटकै व्यवसायी दुई प्यानलमा विभाजित भएपछि एमालेको जिल्ला नेतृत्वलाई टाउको दुखाइ बनेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्तको एकल उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध हुनुभएको छ ।
प्रथम उपाध्यक्षमा भण्डारीको प्यानलबाट दयानिधि भण्डारी र अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे उम्मेदवार हुनुहुन्छ । द्वितीय उपाध्यक्षमा भण्डारीको प्यानलबाट नामदेव पाण्डे र अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा भण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र अधिकारीको प्यानलबाट मनिराम खनाल उम्मेदवार हुनुहुन्छ ।
सचिवमा भण्डारीको प्यानलबाट मनहरी बस्याल र अधिकारीको प्यानलबाट मनिमदिन मिया, सहसचिवमा भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा भण्डारीको प्यानलबाट विनित भट्टराई र अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।
२० मध्ये १६ जना कार्यसमिति सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । चारजना कार्यसमिति सदस्यहरुमा हरिबहादुर सुनार, पूर्णप्रसाद काफ्ले, तिलक आचार्य र कुलबहादुर बिसी निर्विरोध हुनुभएको छ । संघमा एक हजार ५०० भन्दा बढी व्यवसायी सदस्य छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा आउँदासम्म निरन्तर योगदान गरेका आधारमा अध्यक्षमा आफ्नो दावी स्वभाविक र न्यायोचित भएको भण्डारीले बताताउनुभयो । अधिकारीले भने व्यवसायिक संघ संस्थाहरू परम्परागत ढंगले नचल्ने हुँदा संघको नेतृत्वमा युवा पंक्ति आवश्यक भएको बताउनुभयो । अधिवेशनको नेकपा (एमाले) का केन्द्रीय सचिव तथा रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।