बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहनगरपालिका–९ कालिकानगरको कालिकापथमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डिएसपी विजयराज पण्डितले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताउनुभयो । केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउपर्ने मध्ये अधिकांश युवा छन् । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताउनुभयो ।