काठमाडौं-सरकारले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनाको व्यवस्था खारेज गर्दै सरकारले कोभिड–१९ अस्पतालका रुपमा सूचीकृत गरेको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड अस्पतालको लेभल एक, दुई र तीन खारेज भएको जानकारी दिए।
यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउने छन्। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब १ सय १५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउनु पर्नेछ ।
४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने छन् । मन्त्रालयले यसअघि गरेको व्यवस्था अनुसार देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ मा १८ वटा र लेभल एकमा ७ वटा अस्पताल थिए । यस्तै, मन्त्रालयले ललितपुरको सानेपास्थित मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
डा.अधिकारीका अनुसार नयाँ व्यवस्था सुरु भएसँगै अब कोभिड उपचार गर्ने अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ।
नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भइरहेको दुर्व्यवहारप्रति दु:ख व्यक्त गर्दै चिकित्सकहरुको घरमा फ्लेस टाँगेर कोरोना संक्रमितको भिल्ला भिराउन खोज्नु आपत्तिजनक भएको बताए।