बुटवल–रुपन्देहीको पूरानो विद्यालय बुटवल माध्यमिक विद्यालयले कक्षा ११ सञ्चालन गर्ने अनुमति पाएको छ। बुटवल उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले ११ कक्षा सञ्चालन गर्न अनुमति दिएको हो।
नगर शिक्षा समितिको साउन २ गते बसेको बैठकले सिफारिस गरे बमोजिम उपमहानगरको कार्यपालिका बैठकले कक्षा थप गर्ने बाटो खोलेको हो। बुटवल माविले कक्षा ११ मा शिक्षा र व्यवस्थापन विषय सञ्चालन गर्न अनुमति मागेकाले त्यही बमोजिम अनुमति प्रदान गरिएको उपमहानगरका शिक्षा शाखाका अधिकृत टिकाराम पन्थीले बताए।
पछिल्लो शैक्षिक सत्रमा बुटवल माविमा कक्षा १० मा ३२ जना विद्यार्थी थिए। कोरोना महामारी र लकडाउनको कारण एसइइ परिक्षा नभएपछि आन्तरिक मूल्यांकनको आधारमा सबै उत्तीर्ण भएका छन्।
सो विद्यालयका साथै बाहिरबाट पनि विद्यार्थीहरु आउने आशामा ११ कक्षा सञ्चालन गर्न खोजेको बुटवल माविका प्रधानाध्यापक अकरमुल्लाह खाँले बताए। ‘अहिले एसइइ उत्तीर्ण विद्यार्थीहरु हुन्छन्, त्यसमा एकदुइ जना थपघट होलान्, केही बाहिरबाट पनि आउलान्’–उनले भने–‘विद्यालयमै पढाउने शिक्षकहरुबाटै माथिल्लो कक्षाको व्यवस्थापन गर्छौं।’
अनुमति पाएपनि कोरोना महामारी र लकडाउनको यो समयमा पढाइ कहिले शुरु हुन्छ भन्नेमा अन्योल छ। बुटवल माविले ११ कक्षा सञ्चालन गर्न निकै पहिलेदेखि नै पहल गरेको भएपनि अहिले आएर मात्र अनुमति पाएको हो। ‘प्राविधिक विषय राख्न खोजेका थियौं, सुरुमा इलेक्ट्रोनिक इन्जिनियरिङ विषय राख्न पहल गर्यौं सफल भएन, अमिन विषयको कक्षा सञ्चालन गर्न पनि पाइएन’–प्रअ खाँले भने–‘अहिले गैर प्राविधिक विषयको अनुमति पाएका छौं, शिक्षा र व्यवस्थापन विषय सञ्चालन हुन्छ।’
विगतमा बुटवल हाइस्कुलको नामले चिनिने बुटवल मावि २००८ सालमा स्थापना भएको हो। १० कक्षा पढाइ हुन थालेको ६ दशक भइसक्दा पनि लामो समयसम्म यो विद्यालयले कक्षा थप गर्न सकेको थिएन।
शहरबाट पायक पर्ने ठाउँमा नहुनु, एकान्त ठाउँमा हुनु, बालबालिकालाई जान असहज र निजी विद्यालयको बढ्दो प्रभावका कारण बुटवल माविमा विद्यार्थीहरुको आकर्षण केही वर्ष यता कम छ।
बुटवल माविसँगै अन्य ९ वटा विद्यालयले पनि बुटवल उपमहानगरबाट कक्षा थपको अनुमति पाएका छन्। साथै तिन वटा पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्न पनि अनुमति दिएको छ।
उजिरसिंह मावि र त्रिभुवन युनाइटेड एकेडेमीले १२ कक्षाको अनुमति पाएका छन्। एभनेजर न्यु भिजन इंग्लिस बोर्डिङ स्कुलले ११ कक्षा सञ्चालन गर्न पाउने भएको छ।
त्यसैगरी दीपनगरको सन्तोषी माता गुरुकुल विद्याश्रम, प्रगतिनगरको प्रगति मावि, मदिना बोर्डिङ स्कुलले १० कक्षा थपको अनुमति पाएका छन्।
युनाइटेड इंग्लिस बोर्डिङ स्कुलले ९, शान्तिदीप इंग्लिस स्कुलले ८ र अक्षर एकेडेमीले ५ कक्षा सञ्चालन गर्ने अनुमति पाएका हुन्।
त्यसैगरी पूर्वप्राथमिक कक्षा सञ्चालन गर्न पाउनेमा लुम्बिनी पाठशाला मण्टेश्वरी एण्ड डे केयर सेन्टर, मदरल्याण्ड बेबी केयर एण्ड मन्टेश्वरी स्कुल प्रालि र गौरव विगिनर्स वर्ड मन्टेश्वरी स्कुल रहेका छन्।