काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी, पार्टी एकताको बाँकी काम टुंगो लगाउँनेलगायतका विषयमा छलफल हुने बताए ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । सचिवालय बैठकबाट सो विषयमा समेत छलफल गरी अगाडि बढने सहमति अध्यक्षद्वय ओली र दाहालका बीचमा भएको छ ।
सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत गम्भीर समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने बताइएको छ ।
यस्तै, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुनेछ । भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भए पनि नेताहरूबीचको विवाद र अन्य व्यस्तताका कारण यो विषय ओझेलमा पर्दै आएको थियो । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच सहमति जुटेपछि सचिवालय बैठक डाकिएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भए पनि पोलिटब्युरो, आयोग गठनको काम अझै टुंगो लागेको छैन । एकताको बाँकी काम कसरी टुंगो लगाउने र पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने विषयमा छलफल भएको छ ।
पोलिटब्युरो गठनका साथै अनुशासन, लेखा, निर्वाचन गरी तीन आयोग अहिले गठन हुन सकेको छैन । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न अझै बाँकी नै रहेको छ ।