काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको बताएका छन्।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई आआफ्नो स्थानबाट सफल पार्नुपर्ने दायित्व रहेको स्मरण गराएका छन्।
उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, 'यतिवेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुन जरुरी छ। यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ।'
प्रधानमन्त्रीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्। उनले अहिलेको कोरोना संक्रमण महामारीमा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्रसेवकहरुप्रति सम्मान प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीन वटै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गरी आफ्नो ज्ञान, सीप र क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा देखाउनुपर्नेमा जोड समेत दिएका छन्।
आज १७औं निजामती सेवा दिवस मनाइदैछ। २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (२२ भदौ) को सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो।