बुटवल-नेपाली कांग्रेस रुपन्देहीका पुर्व उपसभापति अमरिका कोहारको मृत्यु भएको छ। कोहारको हृदयघातको कारण मंगलबार साँझ मृत्यु भएको नेपाली कांग्रेस नेता तथा प्रदेश सभा सदस्य अष्टभुजा पाठकले जानकारी दिए ।
हाल उनी लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य समेत थिए । नेपाली कांग्रेस विभाजन भएको बेला कांग्रेस प्रजातान्त्रिकका रुपन्देही जिल्ला उपसभापति थिए । कांग्रेस एक भइसकेपछि पनि १२ महाधिवेशनसम्म उपसभापति रहेका थिए । गत २०७४ सालको निर्वाचनमा उनी प्रदेश सभामा बागी उमेदवार बनेका थिए ।
पार्टीको बफादार कार्यकर्ता भएपनि चुनावमा उनलाई वास्ता नगरिएको कांग्रेसका एक नेताले बताए । स्थानीय तहको चुनावमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरको उमेदवारको रुपमा उनलाई हेरिएको थियो ।
तर कोहारलाई प्रदेश सभामा उमेदवार बनाउने आश देखाएर नगर सभापति मोहम्बद सहिदलाई कांग्रेसले टिकट दियो । प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट नवप्रवेशी फखरुद्धिन खाँले टिकट पाएपछि कोहारले स्वतन्त्र उमेदवारी दिएका थिए । उनले बागी उमेदवारी दिएपनि चुनाब भने फखरुद्धिनले जिते ।