काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै डेढ महिनादखि स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्ताव पेश गरिने छ ।
असारमा शुरु भएको बैठक विवादकै बीच साउन १३ गतेसम्म बसे पनि त्यसयता त्यत्तिकै स्थगित गरिएको थियो ।
स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र प्रधानमन्त्रीको तीब्र आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह नै नगरी बैठक स्थगित गरेका थिए।
ओलीले बैठक स्थगित गरेपनि साउन १३ मा अर्का अध्यक्ष दाहालले आफू र नेता माधव नेपाल पक्षीय सदस्यहरुको बैठक राखेर ओलीको कार्यशैली र रवैयाको आलोचना गरेका थिए। दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने जिम्मेवारी दाहाललाई बैठकले दिए पनि त्यसयता बैठक बस्न सकेको थिएन ।
कार्यदलले दिएको प्रतिवेदनमै केही फेरबदल गरेर अध्यक्षद्वयले तयार पारेको १५ बुँदे प्रस्ताव आज बस्ने स्थायी कमिटीको बैठकमा पेश गरिने र पारित गरिने जनाइएको छ ।