बुटवल-बुटवल उपमहानगरपालिकाले नगरको लगत संकलन सुरु गरेको छ । प्रदेशको अस्थायी मुकाम भएपछि बुटवलको वास्तविक अवस्थालाई तथ्यांकमा उतार्न सबै वडामा विशेष सर्वेक्षकहरू खटिएका छन् । बुटवलका १९ वटै वडामा रहेका घरधुरी, परिवार, व्यावसायिक संघसंस्था, प्रतिष्ठान, विद्यालय, मठ–मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च तथा सार्वजनिक जग्गाको वस्तुगत अवस्थालाई सबै विवरणसहित अद्यावधिक गरिनेछ । त्यसरी संकलन गरिएका तथ्यांकलाई मोबाइल एप्लिकेसन तथा अनलाइन सिस्टममा राखिने छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘वस्तुस्थिति विवरण तयारी कार्यविधि, ०७५’ अनुसारको पालिकाहरूलाई तय गरिएको ढाँचामा तथ्यांक संकलन गर्न लागिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।
बुटवलले आवधिक र १५ वर्षे दीर्घकालीन, वार्षिक एवं रणनीतिक योजना तर्जुमा गरेको छ । ती योजनाहरूलाई प्रभावकारी बनाउन र सफल पार्नका लागि पनि नगरको पछिल्लो अवस्थालाई अद्यावधिक गर्न आवश्यक रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
सर्वेक्षणका लागि १९ वटै वडामा एक सय २० जना सर्वेक्षक र १९ जना सुपरभाइजरलाई विशेष तालिम दिएर खटाइएको छ । उनीहरूले नगरका घरधुरीका साथै भाडामा बस्नेहरूको समेत विवरण संकलन गर्नेछन् । नदी, तालतलैया, पोखरी, वन जंगल, खुला चउर, सार्वजनिक क्षेत्र, कृषियोग्य क्षेत्र तथा बस्तीलगायतको विवरण अद्यावधिक गरिनेछ ।
अहिले बुटवलका करिब ६० हजार घरधुरी र दुई लाख जनसंंख्या रहेको अनुमान गरिएको छ । उपमहानगरले ४० हजार घरधुरीमा डिजिटल नम्बरिङका काम यसअघि नै गरिसकेको छ । पछिल्लो एक वर्षमा बनेका नयाँ घर तथा बसाइसराइ गरी आएका परिवारसमेतलाई अब अद्यावधिक गरिनेछ ।
नगरवासीले कहाँ के–के काम गर्दै आएका छन्, के–कस्तो पेसा–व्यवसायमा आबद्ध रहेका छन् र भाडामा बस्नेहरूले के कस्ता पेसा–व्यवसायहरू गर्दै आएका छन् ती विवरणलाईसमेत अद्यावधिक गर्दै छ । सर्वेक्षणको कामलाई एक महिनामा सक्नेगरी सर्वेक्षकहरूलाई खटाइएको छ ।
यसरी संकलन गरिएका विवरणहरू सर्वेक्षकले आफूखुसी सार्वजनिक भने गर्न पाउँदैनन् । संघीय सरकारले उपलब्ध गराएको ढाँचामा संकलन गरेका तथ्यांकहरू उपमहानगरमा सुरक्षित राखिनेछन् । सुरक्षा संवेदनशिलता र नागरिकको हक अधिकारलाईसमेत मध्यनजर गर्दै सर्वेक्षणको काम अगाडि बढाइएको उपप्रमुख गोमादेवी आचार्यको भनाइ छ ।
सर्वेक्षणका खटिएका सर्वेक्षकहरूलाई तीनदिने विशेष तालिम दिएर फर्म्याट सहित फिल्डमा खटाइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । फारम भर्ने र त्यसैलाई मोबाइल एप्समा राख्ने गरी काम भइरहेको छ ।