काठमाडौं-सिन्धुपाल्चोकमा फेरिपनि ठूलो पहिरो आउँदा २ वटा बस्तीका घरहरु बगाएको छ। १ जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रविसे नगरपालिका वडा ७ भीरखर्कमा खोल्सा थुनिएर आएको पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना बेपत्ता छन्।
पहिरोले दुई वटा बस्तीका घरहरु बगाएको छ। भीरखर्कका केही घर बगाउँदै आएको पहिरोले नागपुजेमा अझै ठूलो क्षति गरेको र त्यहाँ ४२ वर्षीय रामकुमारी श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जानकारी दिए।
पहिरोमा कम्तीमा १६ जना बेपत्ता भएको हुनसक्ने उनले बताए। तर स्थानीयले भने यो संख्या अझै धेरै हुनसक्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तीन वटै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्वारमा खटिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी काफ्लेले प्रहरीको एउटा टोली घटनास्थल पुगेको जानकारी दिए।