दाङ–दाङमा निषेधाज्ञा खुकुलो पारिएको छ । दिनभरि बजार र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने, रातीको समयमा बन्द गर्नेगरी निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको हो । सोमवार विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, सावरीसाधन, उद्योग, कलकारखाना सञ्चालनमा आउने भएका हुन्।
जिल्ला प्रशासन कार्यालय दाङले आज सुचना प्रकाशित गरेर भदौ २९ गते सोमवारदेखि अर्को सूचना नहुदाँसम्मका लागि विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार तथा सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रशासनले सवारीसाधन सञ्चालन गर्दा अनिवार्य रुपमा जोरविजोर नम्वर लागु गर्ने बताएको छ । साथै निश्चित कर्मचारीको उपस्थितिमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु खुलाउने निर्णय गरेको छ ।
तर साँझ ७ बजेदेखि विहान ६ बजेसम्म औषधीलगायतका अत्यावश्यक सवारीसाधनबाट अन्य कुनै प्रकारका गतिविधि तथा सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । नियम विपरित चलाइए कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले जिल्लामा सार्वजनिक कार्यक्रम, भेला, गोष्ठीलगायतका कुनै प्रकारका भीडभाड हुने कार्यक्रम गर्नमा भने रोक लगाएको छ । जिल्लाका कोरोना जोखिम कायम रहेको भन्दै मानिसहरुको भीडभाड हुने कार्यक्रमहरु गर्नमा रोकलगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि जिल्ला कोरोना संकट समितिले भदौको १४ गतेदेखि जिल्लमा दोश्रो चरणको निषेधाज्ञाको घोषणा गरेको थियो । जसका कारण बजार, यातायात तथा उद्योग कलकारखानाहरु बन्द रहेका थिए ।