रोल्पा-रोल्पाको माडी गाउँपालिकाले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पालना गरी विद्यालय खोल्न लागिएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएका प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न सकिने उल्लेख छ।
गाउँपालिका अध्यक्ष पुनका अनुसार विद्यालयमा पहिलो चरणमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई पठाई सबै कक्षामा कोरोना सचेतना कक्षा चलाइनेछ।
कक्षामा कोरोना रोगको जानकारी र अपनाउनुपर्ने सावधानीका बिषयमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी दिइनेछ। त्यसपछि शिक्षक विद्यार्थीको प्रत्यक्ष उपस्थितीका पठन पाठनका कक्षा सञ्चालन गरिने पुनले बताए।
गाउँपालिकामा आइतबार वडा अध्यक्षहरुको उपस्थितिमा गाउँ शिक्षा समितिको बैठक बसी सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको विषय र पालिकाको कोरोनाको अवस्थाको बिषयमा छलफलपछि विद्यालय खोल्ने निर्णय भएको उनले बताए।
उनले गाउँपालिकाभित्र अहिलेसम्म एक जना पनि कोरोना संक्रमित नभएको बताए । माडी गाउँपालिकामा अहिले सामुदायिक क्वारेन्टिनमा १७ जना रहेका छन्।