अर्घाखाँची । अर्घा र खाँची मगरात राज्य थिए । बाइसे चौबीसे राज्य अर्घा र खाँची मिलेर समग्र अर्घाखाँची बनेको छ । यी दुई राज्यले सन्धी गरेको स्थान अहिले सन्धिखर्क नगरपालिका बनेको छ । पश्चिम नेपालको अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ ।
पश्चिम नेपालको प्रदेश नं. ५ को लुम्बिनी पछिको दोस्रो पर्यटक आवागमन बढी हुने स्थान सुपादेउराली यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य हो ।
कपिलवस्तुको गोरुसिंगेबाट सडकको ४७ किलोमिटर दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला ठूला पहाडको खोचमा अवस्थित प्राचीन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर अवस्थित छ ।
प्राकृतिक रमणिय स्थानमा अवस्थित यस मन्दिरमा मनोकाक्षा पुरा हुने भएकाले यसको महत्व दिन प्रतिदिन बढ्दै गएको कुरा त्यहाँ आउने भक्तजनहरुको भीडले देख्न सकिन्छ । सन्धिखर्क नरपालिकाको वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ मा अवस्थित रहेको छ, सुपादेउराली मन्दिर ।
प्रसिद्ध धार्मिकस्थल झण्डै ४ हजार पाँच सय फिटको उचाईमा अवस्थित छ । सुपाखोलाको पश्चिमतर्फ नरपानी र फलामे दुई अग्ला महाभारतको बीचमा रहेको खोचमा अवस्थित रहेछ यो मन्दिर । सयौँ फिट माथिबाट मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङ्गछङ्ग अवाजले त्यहाँबाट आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ ।
सुपादेउराली मन्दिरमा जिल्लासँग सीमाना जोडिएका प्यूठान, कपिलवस्तु, गुल्मी, रुपन्देही, दाङ्ग, पाल्पा, बाग्लुङ र भारतको विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।
सुपादेउराली प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापना कहिले कसरी भयो भन्ने सन्दर्भमा विभिन्न जनश्रुति किम्वदन्तीका आधार र पहरामा लाहुरे टासिएको, भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जातो, आदीका सीलाहरुबाट त्रतोयुग देखि नै त्यहा शक्ति थियो भन्ने मान्न सकिन्छ ।
पछि आएर बाइसे चौविसे राज्यका पालामा खाँचीकोट राज्यका राजकुमारी र भारतको वलरामपुरकी राजकुमार बीच विवाह गरी घरतर्फ ल्याउदा बाटोमा केही कुरा ढाट छल गरी विवाह गरेको हल्ला दुलीहीले सुनिन ।
डोलीमा बोकेर ल्याएकी दुलही हालको सो मन्दिर भएको स्थान भन्दा करिब ५० मीटर दक्षिणमा आउदा रगतको थोपा झरेछ अनि सुपा देउराली मन्दिरमा आइ डोलीमा हेर्दा राजकुमारी दुलही मृत अवस्थामा थिइन ।
त्यस पछि खाँचीकोट राज्यमा विभिन्न रोगव्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका जैसी आइ धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पति भई (कालो पाठी) बली दिनु पर्छ भनि त्यसै समयदेखि त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खडका, कब्दार र नेवार थरका समुदायले कुलपुजा गर्दै हालसम्म आएको पाइन्छ भने आफ्नो मनकामना पुरा होस भनि भाकल गर्ने विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फुल, माला चढाउने र पाठा पाठीको बलिपुजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन पनि छ ।
मन्दिरको पूनर्निर्माण र बढ्दो विश्वासको कारण आजभोली दैनिक सयौ जोडी परेवा उडाउने तथा बोका बली दिने सयौंको संख्यामा मानिसहरु यस मन्दिरमा आउँछन् । मन्दिरमा आउने भक्तजनहरुवाट चढेको भेटी दानदातव्यबाट हुने आम्दानीबाट आदर्श माध्यमिक विद्यालय र शान्ति निम्न माध्यमिक विद्यालयका नीजि स्रोतबाट शिक्षकहरु राखेर विद्यालय सञ्चालन गर्दै आएको मन्दिर व्यवस्थापन समिति सचिव यादव घिमिरेले बताए ।
दुई विद्यालयका झण्डै १० देखी १२ जना शिक्षकहरु मन्दिरकै आम्दानीको भरमा सञ्चालन हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रितम थापाले बताए ।
सुपादेउराली मन्दिरमा औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपञ्चमी, महाशिवरात्री, अष्ठतृतिया, रामनवमी, आदी दिनहरुमा बलिपुजा निषेध गरिएको छ । तर परम्परादेखि वैशाख शुल्क पूर्णिमाको दिनमा कुलपुजा हुने भएकोले बली चढाउने गरिएको छ ।
टाढा–टाढाबाट त्यहाँ आउने भक्तजनका लागि बस्ने व्यवस्थाका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर नजिकै धर्मशाला बनाउने निर्णय गरेको छ । मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बिस्तारै बढ्दै गएको छ । यातायातको सुविधा नहुँदा केही समय अगाडिसम्म गाउँ–गाउँबाट मन्दिर जान समस्या हुने गरेको थियो ।
सुपा देउरालीबारेका मान्यता
किंवदन्तीअनुसार आजभन्दा कैयौँ वर्ष अगाडिको कुरा हो एक जना व्यक्तिले रोजगारीका क्रममा भारत जाँदा मन्दिर अगाडि पुगेर हात जोडी बिन्ती गरेछ–‘हे सुपाकी माई मलाई फौजीमा जागिर मिलाइदेउ यसको बदलामा मैले तिम्रो लागि बाख्राको पाठी चढाउनेछु ।’
यति भनेर भारत गएका उनले तत्काल फौजीमै जागिर पाएछन् । जागिर पाएपछि उनले देवीका अगाडि गरेको कुरा बिर्सेछन् । तीन पटकसम्म मन्दिर अगाडिबाटै ओहोरदोहोर गरेपछि चौथो पटक मन्दिर अगाडिबाटै हिँड्न लाग्दा देवी रिसाएर ढुङ्गे पहरामा उसलाई टाँसेकी हुन् भन्ने विश्वास गरिन्छ । ढुङ्गे पहरामा मानिसको छाँया नै उसैको हो भनिदै आएको छ ।
बञ्जिजम्प, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना
निरन्तर पानी बगिरहने छहरामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडासम्म पुग्ने साहसिक खेल अर्थात् क्यानोनिङ, डोरीको सहायताले एकैपटक तल खोलामा हाम फाल्ने बञ्जिजम्प र पहाडको टुप्पोबाट चरा जस्तै उडेर दृश्यावलोकन गर्ने अवसर सुपा देउराली पुगेपछि प्राप्त हुने भएको छ ।
धेरै कौतुहलता, साहस सँगसँगै डर र रोमाञ्चकले भरिएका साहसिक पर्यटनका यी गतिविधिले धार्मिक महत्व बोकेको सुपा देउराली प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । सुपा देउराली मन्दिर र यसको पेरिफेरिको क्षेत्र यस्तो बन्ने भयो जहाँ तीनवटै साहसिक खेल पर्यटनका लागि उपयुक्त स्थान बन्न सक्ने सम्भावना देखिन्छ ।
पछिल्लो समयमा पर्यटन सुपा देउराली वरपर रहेको भौगोलिक क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि बञ्जिजम्प, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना उत्तिकै देखिएको छ ।
देउराली मन्दिर पछाडि रहेका झरनामा क्यानोनिङ, मन्दिर नजिकै सीतखोलाको दुई छेउमा रहेका पहाडमा बञ्जिजम्प तथा मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिएको वडा अध्यक्ष प्रितम थापा बताउँछन् ।