रोल्पा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेका छन् ।
वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गरे । “कार्यपालिकाले योजना अनुसार बजेट विनियोजन गर्न ध्यान दिनुपर्छ, वडालाई सेवा केन्द्रको विकास गर्नुपर्छ”–उनले भने ।
रोल्पा जिल्लाको महत्वपूर्ण सडक शहिद मार्गको अवस्था अवलोकन गर्न आएको बताउँदै उनले शहिद मार्गको कामलाई तीब्र ढंगले अघि बढाउन पहल गर्ने बताए । शहिदमार्गलाई दुई लेनको बनाउन डिपिआर तयार भएको बताउँदै उनले दुई लेनको सडक क्षेत्राधिकार छुट्टयाएर घर बनाउन दिने निर्णय तत्काल पालिकाहरुले गरे । त्यसैगरी उनले रोल्पा र रुकुमको खाम संस्कृति पर्यटन प्रवद्र्धनको प्रचुर संभावना भएको बताए । उनले खाम संस्कृतिलाई पर्यटनसंग जोडेर अघि बढ्दा स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए ।
खाम मगर संस्कृतिका वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने गरी योजना बनाउन गाउँपालिका नेतृत्वलाई आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ–उनले भने । उनले मौलिक र नयाँ ढंगले काम गर्दा नागरिकले परिवर्तनको अनुभूति गर्ने र समाजमा सकारात्मक सन्देश जाने बताए । उनले पर्यटन प्रवद्र्धन सहित स्थानीय उत्पादनलाई व्यवसायिक ढंगले गर्न आग्रह गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले गाउँपालिकाको ध्यान उत्पादनमुखी बन्नुपर्ने बताए । उनले अब रुकुम र रोल्पा विकट नहुने सडक पूर्वाधारको बलियो जग तयार भएको बताए।
मध्यपहाडी लोकमार्ग र शहिद मार्गले यी दुई जिल्लालाई यातायात सञ्जाल राम्रो बनाउदै लगेको र अरु आवश्यक सडक प्रदेश सरकारले बनाउँदै जाने उनले बताए । सडक सञ्जाल विस्तारसगैं गाउँका उत्पादन शहर पठाउने योजना अनुसार काम गर्न उनले आग्रह गरे । रुकुमको चुनवाङबाट रुकुमकोट र सुलीचौर बाट थवाङ जोड्ने सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । उनले समाज बदल्ने अभियानमा विरोधका स्वरहरु आउनु स्वाभाविक भएको बताउँदै त्यस्ता आवाजबाट नआत्तिन र निर्धक्क भएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेे ।
मंसिर ४ गते रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाबाट शुरु भएको मुख्यमन्त्रीको रुकुम रोल्पा यात्रा शनिवार रोल्पाको रुण्टीगढी पुगेर टुंगिएको छ । यो बीचमा उनले रुकुमका तीन बटै गाउँपालिका पुथाउत्तरगंगा, सिस्ने र भुमेका विभिन्न कार्यक्रममा सहभागी भए । रोल्पाको थवाङ, परिवर्तन,त्रिवेणी, माडी र रुण्टीगढी गाउँपालिकाका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले ती पालिकामा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका विभिन्न विकास आयोजनाको अनुगमन गरी जानकारी लिएका थिए ।