सैनामैना–रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ।
बिहीवार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्रयाक्ट टे«सिङमा परेपछि सेवा प्रवाह र कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए। अर्यालका अनुसार कार्तिक २१ गते शुक्रवार देखि २४ गते सम्म सेवा बन्द गरिएको हो।
संक्रमणको दर अझै बढ्ने सम्भावना भएकोले संक्रमणको न्यूनिकरण गर्न नगरपालिका कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ। यो अवधिमा अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने छन्।
सैनामैनामा अहिले सम्म ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ सय ७९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।
हाल सैनामैना कोरोना अस्पताल बनकट्टाको आइसोलेशनमा १२ जना, होम आइसोलेशनमा ४५ जना र अन्य २ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिए।