ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि आज मुम्बई ईण्डियन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन् । १३ औं संस्करणको उपाधि भिडन्त दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ ।
दिल्लीलाई नै हराउँदै मुम्बईले फाईनलमा स्थान बनाएको हो भने दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्लीले मुम्बईसँगको भेट पक्का गरेको हो । यसै सिजन यी दुई टोलीबीच चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघिका तीनै भेटमा दिल्लीलाई हराएको मुम्बई सोही नतिजा कायम राख्दै पाँचौं पटक आईपीएलको उपाधि उचाल्ने योजनामा छ । पहिलो पटक आईपीएलको फाईनल खेल्न लागेको दिल्ली मुम्बईलाई हराउँदै ईतिहास रच्ने दाउमा छ ।
यसअघिका तीनै खेलमा मुम्बईसँग पराजित भएको दिल्लीलाई सो हारको बदला लिने अवसर पनि रहेको छ । दिल्ली श्रेयश ऐर र मुम्बई रोहित शर्माको कमानीमा मैदान उत्रनेछन् ।