काठमाडौं । बुधबार बेलुकाबाट नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ ।
“यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ,” बुलेटिनमा भनिएको छ,“यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्ये र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ ।”
यस प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । यो प्रणाली शनिबारसम्ममा अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारणमा महाशाखाको अनुरोध छ ।