जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र बनेकी १६ वर्षीया स्कुले किशोरी ग्रेटा टून्बेर्ग अमेरिकाको चर्चित 'टाइम' म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषित भएकी छन्।
गएको सेप्टेम्बर महिनामा उनले युएन क्लाइमेट एक्सन समिटलाई सम्बोधन गर्दा निकै चर्चा पाएकी थिइन् ।
सन् १९२७ यताको वर्ष व्यक्ति घोषणा गर्ने म्यागेजिनको परम्परामा यी स्वीडिस युवती त्यसरी छानिएकी सबैभन्दा कान्छी व्यक्ति हुन्।
उनी २०१९ को नोबेल शान्ति पुरस्कारको नोमिनेसनमा पनि परेकी थिइन् । यद्यपि पुरस्कार भने इथियोपियाका प्रधानमन्त्री अबिय अहमद अलीलाई दिइएको थियो ।
सानो उमेरमै विश्व चर्चा हासिल गरेकी ग्रेटालाई टाइम म्यागेजिनले यसपालि वर्ष व्यक्ति बनाएको हो । यसैवर्ष सो म्यागेजिनले १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि ग्रेटालाई राखेको थियो । टाइम म्यागेजिनले वर्ष व्यक्ति सन् १९२७ बाट तोक्न थालेको हो ।
को हुन् ग्रेटा
गतवर्ष यी किशोरीले प्रत्येक शुक्रवार आफ्ना कक्षाहरू छाड्दै स्वीडिस संसदबाहिर धर्ना बसेर एउटा वातावरण सम्बन्धी हड्ताल सुरु गरेकी थिइन।
त्यसले सामाजिक सञ्जालमा #FridaysForFuture शब्दावलीलाई एउटा चर्चित विश्वव्यापी अभियान नै बनाएको थियो।
त्यसयता उनी जलवायु परिवर्तनबारे काम हुनुपर्ने भन्ने भनाइको बलियो स्वर बनेकी छन्।
उनको अभियानले खासगरी दशौँ लाख विद्यार्थीहरूलाई विश्वभर प्रदर्शनमा उत्रन प्रेरणा दिएको थियो।
यो वर्षको सुरुमा उनी नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा परेकी थिइन्।
म्याड्रिड सम्मेलनमा आउने क्रममा उनले कार्बन उत्सर्जनलाई छल्न भन्दै हवाईजहाज यात्राको विकल्पमा न्यूयोर्क शहरबाट डुङ्गामार्फत् आन्ध्र महासागर काटेकी थिइन्।
सेप्टेम्बरमा न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले नेताहरू लक्षित एउटा आक्रोसपूर्ण मन्तव्य दिएकी थिइन्।
उनको भनाइ थियो: "खोक्रा शब्दहरूले तपाईँहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ। हामीहरूले तपाईँहरूलाई हेरिरहेका छौँ।"