बुटवल - संसदीय समितिको निर्देशनलाई लत्याउँदै प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान वितरणबारे आफै छानबीन गर्न थालेको छ ।
किसानसँग प्रस्ताव मागेर आफै अनुगमन गरेर अनुदान स्वीकृत गरेको मन्त्रालयले अनुदान वितरणमा अनियमितता भएको प्रश्न उठेपछि आफ्नै कर्मचारीको अगुवाईमा छानबीन गर्न थालेको हो ।
अनियमितता भएको विषय उठेपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले अनुदान दुरुपयोग गर्नेको नाम किटानसहित प्रतिवेदन बुझाउँदै कारबाही गर्न निर्देशन दिएको थियो ।
समितिको निर्देशनको वेवास्ता गरेको मन्त्रालयले ४ वटा उपसमिति बनाएको छ । जसमा कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटा, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक तुलसी भण्डारी, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख श्रीधर ज्ञवाली र पशुपंक्षी विकास महाशाखाका प्रमुख प्रदीप शर्मा संयोजक रहेका छन् ।
यी समितिले अनुदान वितरण गरेका जिल्लाहरुको अनुगमन गरेर प्रतिवेदन तयार गर्नेछन् । जबकी मन्त्रालयले अनुदान दिनुअघि किसानका फर्मको अनुगमन गरेको थियो । अनुदान दुरुपयोग नभएको दाबी गर्ने मन्त्रालयले फर्जी कागज र फर्जी काम भएको पनि स्वीकार गर्दैन ।
तर प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले किटानी प्रमाणसहित तयार गरेको प्रतिवेदनलाई भने मन्त्रालयले घुमाउरो शैलीमा अस्वीकार गरेको छ । मन्त्रालयले ‘अनुदान दुरुपयोग भयो भनेर हल्ला फैलिएको’ भन्दै त्यसको खण्डन गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आरती पौडेल र सचिव तेजबहादुर सुवेदीले मन्त्रालयको तर्फबाट कमजोरी नभएको तर्क प्रस्तुत गरे ।
संसदीय समितिको प्रतिवेदनका आधारमा प्रकाशित भएका समाचारहरुको खण्डन गर्ने शैलीमा उनीहरुले संसदीय समितिको प्रतिवेदनलाई ‘गलत गरेको आशय देखिने खालको प्रतिवेदन’ भने । ‘हामी मानिस हौं, केही कुराहरु व्यवहारिक हिसाबले हेर्दाखेरि नमिलेका हुनसक्छन्,–मन्त्री पौडेलले भनिन्–जे जे कुरामा समस्या देखिएको छ, त्यसलाई हामी सुधार गर्दै जान्छौं ।’
उनले कतिपय विषयहरु वास्तविकताभन्दा पनि आँकलन गरेर उठाइएको बताइन् । सचिव सुवेदीले त संसदीय समितिको प्रतिवेदनमै शंका व्यक्त गरे ।
‘प्रतिवेदन यहाँहरुले पनि एकपटक राम्रोसँग हेर्नुभयो भने त्यहाँ अनुहार हेरेर यसले गलत ग¥यो होला भन्ने शैलीमा दोष लगाइएको छ–सचिव सुवेदीले संसदीय समितिको प्रतिवेदनप्रति नै शंका व्यक्त गरे–त्यसैले पनि मन्त्रालयले आफै ४ वटा उपसमिति बनाएर छानबीन गर्न थालेको छ ।’ उनले मन्त्रालयले गरेको अनुगमन र छानबीनले कोही कर्मचारीलाई दोषी देखाएमा कारबाही गर्ने बताए ।
यस्तो थियो संसदीय समितिको प्रतिवेदन
प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुदान दुरुपयोग गर्नेको नाम किटानसहित प्रतिवेदन बुझाउँदै कारबाही गर्न निर्देशन दिएको थियो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा वितरित अनुदानको अनुगमन गरेको समितिले अनुदानग्राही किसानसँग कमिसन माग्ने कर्मचारी र दुरुपयोग गर्ने किसानको नामसहितको विवरण दिएको थियो ।
सो प्रतिवेदन समितिका सभापति विजयबहादुर यादवले मुख्यमन्त्री कार्यालय, सभामुख र मन्त्रालयलाई बुझाएका थिए । समितिको तर्क थियो –प्रतिवेदनका आधारमा मन्त्रालयले छानबिन गरेर कारबाही र दुरुपयोग अनुदान फिर्ता गर्नुपर्छ ।
बाख्रा पालन, गाई पालन, तरकारी खेती, फलफूल खेती, बंगुर पालनमा दिइएको अनुदान दुरुपयोग भएको समितिको प्रतिवेदनको निष्कर्ष छ । समितिले कामै नगरेका किसानलाई मन्त्रालयले सजिलै अनुदान दिएकाले मिलेमतोमा दुरुपयोग भएको निष्कर्ष समितिले निकालेको थियो ।
मन्त्रालयका मत्स्य विकास अधिकृत दीपक भुसाल र पौडेल थरका ‘एकाउन्टेन्ट’ले कमिसन मागेको प्रतिवेदनमा उल्लेख छ । रुपन्देहीको अष्ट्रिच नेपाल प्रालिलाई दिने भनिएको पाँच करोडको ५ प्रतिशत २५ लाख पौडेल थरका लेखापालले कमिसन मागेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
कृषि उपज संकलन र ढुवानीका लागि दिइएका साधनहरूमा ढुंगागिट्टी बोक्ने गरिएको, ट्याक्टरहरू व्यक्तिगत प्रयोजनमा लगाएको तथा दूध नै उत्पादन कम हुने स्थानमा ४ हजार लिटरको ट्यांकर वितरण गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । अनुगमनका क्रममा समितिले अनुदानमा खरिद भएका उपकरण पनि प्रयोगविहीन अवस्थामा भेटाएको विवरण प्रतिवेदनमा उल्लेख छ ।
दाङका मासु व्यवसायी बलिराम खत्रीबाट मस्त्य विकास अधिकृत दीपक भुसालले एक लाख ५० हजार अनुदान माग गरेको किटानीसहित प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले अनुदान दुरुपयोग गर्ने किसानबाट रकम फिर्ता गर्न र कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले १२ जिल्लाका करिब एक सय कृषि फर्मको अनुगमन गरेर तीमध्ये ८० प्रतिशत फर्ममा अनुदान रकम दुरुपयोग भएको प्रतिवेदन तयार पारेको थियो । मन्त्रालयले गतवर्ष पौने दुई अर्ब अनुदान १२ सय किसानलाई वितरण गरेको थियो ।