दाङ- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता(टी-२०) अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।
सोमबारको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित भयो । कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहदै ४ रन जोडिन। बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३-३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १-१ विकेट लिएका थिए।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन्। अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन्।
टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आले ले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए। ७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी सोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन्। यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन्।
बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन्। यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताबाट बहिरिएको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो। यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।