दाङ- लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधिका लागि आइतबार प्रदेश १ र विभागीय समुह एपीएफका बीचमा हुने भएको छ ।
शनिबार भएको सेमिफाइनलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगीताको फाइनलमा पुगेको हो ।
यस्तै सुदूर पश्चिमप्रदेशलाई ९ विकेटले पराजितगर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । उपाधिका लागी एपीएफ र प्रदेश १ का विचमा आइतबार विहान ११ बजे बाट प्रतिष्पर्धा हुने छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा विना विकेट गुमाएर पूरा ग¥यो ।
जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन पुगेको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् ।
बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २-२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् । अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजितगर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो ।
फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । टिमलाई जिताउन ओपनर ब्याटर ज्योति पाण्डेले अविजित रहदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् ।
त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमाक्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।
त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमप्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो ।
टिमले उक्त रन बनाउने क्रममा उसका लागि मध्यक्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् ।
यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् ।
४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । उप–विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।