बुटवल– प्रदेश ५ सरकारले आगामी माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।
थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेशमा आउने माघ १ र २ गते सार्वजनिक विदा दिन लागेको हो। गत वर्ष पनि प्रदेश सरकारले दुई नै विदा दिएको थियो। सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवास बुटवलमा माघी पर्व पनि मनाइने जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १० फागुनदेखि १२ गतेसम्म ३ दिन मुख्यमन्त्रीको गृहजिल्ला दाङमा प्रदेश स्थापना ‘एक्स्पो’ गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको प्रदर्शन एक्स्पो हुनेछ। त्यस्तै, बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ। १ निर्देशकसहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो।
त्यस्तै, बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछार्ईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी, बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणा पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
बाँके र बर्दिया अलग्याउन असम्भव
बाँके र बर्दियालाई प्रदेश ५ बाट टुक्राएर कर्णालीमा मिसाउन कुरा उठिरहेको बेला प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले ‘मिडिया खपत’का लागि भाषण नगर्न सुझाव दिएका छन् । एकाध व्यक्तिले भाषण गर्दैमा संविधान संसोधन नहुने भन्दै बाँके र बर्दिया कर्णालीमा गाभ्ने कुरा असम्भव रहेको उनले बताए।
‘मिडिया खपतका लागि एकाध सत्ता विरोधीले यो कुरा उठाइरहेका छन, यो जनताको माग पनि होइन, निष्कर्षमा पुग्न पनि सक्दैन’, उनले भने। उनले प्रदेश टुक्राउने कुरा सत्ताको विरोधमा केही गतिविधि गर्न सकिन्छ कि भन्ने अभिप्रायले उठाइएको समेत बताए।
संविधान संसोधन त्यति सहज नभएको भन्दै यो असम्भव हुने उनले उल्लेख गरे। उनले बाँके र बर्दियाका थारुहरु कुनै हालतमा कर्णालीमा गाभिन नजाने दावी गरे ।
‘यो थारु र मगरहरुको बाहुल्य प्रदेश हो, उनीहरु किन अल्पमतमा पर्न कर्णालीमा जान्छन् ?’, उनले प्रश्न गरे, ‘थारुहट छाडेर खसानमा किन जाने?’ भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता चौधरीले माघ ५ गतेदेखि सुरु हुने अधिवेशनमा राजधानी र नामकरणको विषयले प्रवेश पाउने बताए।
‘यही अधिवेशनले नै राजधानी टुंगो लाउँछ, बुटवलको विकल्प छैन’, उनले भने। राजधानी प्रदेश ३ को नजिर अनुसार हुने उनले बताए । पार्टी केन्द्रको निर्णय र प्रदेश ३ को निर्णयसमेत कुरिएको उनले स्पष्ट पारे।