काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङफेले नेकपाका शीर्ष नेताहरुसँग राजीनामा नदिने अडान दोहोर्याएकी छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेकी तुम्बाहाङफेले पार्टीले निर्णय गर्दैमा आफूले राजीनामा नगर्ने अडान प्रष्टसँग राखिन्।
२६ पुसमा नेकपा सचिवालयको बैठकले उनलाई उपसभामुखबाट राजीनामा दिएर सभामुख निर्वाचनको बाटो खुलाउन आग्रह गरेको थियो।
त्यो आग्रहलाई अस्वीकार गरेकी उपसभामुख तुम्बाहाम्फे नेकपा नेताहरुको बोलावटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्। नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल साथै महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु भेला भएर उपसभामुख तुम्बाहाङफेलाई बोलाएका थिए।
"दुई जना अध्यक्षहरू र नेताहरूले सम्झाउने काम गर्नुभयो, उपसभामुखज्यूले सभामुखका लागि आफ्नो योग्यता पेश गर्दै आफ्नो दाबी छाड्नुभएन", बालुवाटार स्रोतले भन्यो ।