बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषि प्रविधि क्षेत्रको विज्ञता हस्तान्तरण गर्न चिनियाँ राजदुतसँग आग्रह गरेका छन् ।
नेपालका लागि चीनकी राजदूत होउ यान्छीसँगको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले केही महिना अघि भएको सिचुवान भ्रमणका क्रममा कृषिको नयाँ प्रविधि मन परेको भन्दै त्यहाँका कृषि विज्ञको सहयोगमा प्रविधि हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । उनले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए । उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव प्रदेश ५ का लागि उपयोगी हुने बताए ।
मुख्यमन्त्रीले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन मार्फत प्रदेशको समृद्धि गर्दै सिंगो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।
सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गरे ।
उनले केही महिना अघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताए ।
मुख्यमन्त्रीले विआरआई परियोजना अन्तर्गत केरुङ-काठमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदेश ५ मा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए ।
त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने उनले बताएका थिए ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय रहेको, ती दुई विश्वविद्यालय र चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताए । मुख्यमन्त्रीले लुम्बिनी भ्रमण बर्षको समापन तथा बुद्ध जयन्ती समारोहमा राजदूतलाई लुम्बिनीमा निमन्त्रणा गरे ।
राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल द्रुत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन् ।
लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिध उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताइन् । उनले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताइन ।
राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिइन् ।
राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट सहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुशी लागेको बताइन् ।