गुल्मी- कृषि व्यवसायमा युवावर्गको आकर्षण कम छ। काम गर्ने उमेर समुहका युवाहरु वैदेशिक रोजगारीका लागि परदेश पस्न थालेपछि गाउँमा कृषि कर्ममा श्रम शक्तिको अभाव भइरहेको छ। जसका कारण पछिल्लो समय तीनै तहका सरकारको तर्फबाट कृषिमा यान्त्रिकरणको काम तिब्र रुपमा अगाडी बढिरहेको छ।
लागत कम गर्ने उत्पादकत्व बढाउने उदेश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीले जिल्लाका व्यावसायीक कृषि समुह, सहकारी र फर्महरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण वितरण गरेको छ।
कफि सुपर जोन, मकै र सुन्तला जोनमा सुचिकृत कृषि समुह, सहकारी र फर्महरुलाई उपकरण प्रदान गरिएको हो। पहिलो चरणमा करिव ६० लाखका ७९ थान मिनिटिलर प्रदान गरिएको छ। कृषि यान्त्रिकरण सहयोग अन्तरगत ९२ लाखका उपकरणहरु वितरण गर्ने उदेश्य परियोजनाको रहेको कृषि अधिकृत सुमन खनालले जानकारी दिए। कृषि समुह, सहकारी र फर्महरुबाट प्राप्त आवेदनका आधारमा छनौट गरेर कृषि उपकरण प्रदान गरिएको खनालले बताए।
परियोजनाको मकै जोन अन्तरगत मिनिटिलर मोटर स्प्रेयर २४ थान र डिजिटल काँटा ४ थान वितरण गरिएको छ। त्यस्तै सुन्तला जात फलफुल जोन अन्तरगत फुट स्प्रेयर ११ थान, सिकेचर १ सय २६ थान, आरी ९३ थान र भ¥याङ ९ थान वितरण भएको परियोजनाले जनाएको छ। कफि सुपर जोन अन्तरगत मोटर स्प्रेयर १५ थान, सिकेचर १९ थान र आरी ४ थान वितरण गरिएको छ।
निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रुपान्तरण गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न तथा खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि यान्त्रिकरणको आवश्यकता पर्दछ। जसमा कृषि यान्त्रिकरणद्वारा कृषिजन्य वस्तुको उत्पादकत्व बढ्ने, लागत न्यूनीकरण हुने, उत्पादित वस्तुको गुणस्तर कायम राख्न सघाउ पुग्ने भएकाले कृषकहरुलाई कृषि औजार वितरण गरिएको परियोजना प्रमुख नारायण काफ्लेले जानकारी दिए।
पहाडी जिल्लाहरुमा कृषि क्षेत्रमा मुख्यतया परम्परागत गोरु र हलो मार्फत कृषिका विभिन्न कामहरु गर्ने गरिएको छ । तर, उपयुक्त र गुणस्तरीय कृषि यन्त्र तथा उपकरणका सम्बन्धमा कृषक र उद्यमी वर्गमा पर्याप्त ज्ञान नहुनु, यन्त्र तथा उपकरणहरुमा उद्यमी व्यवसायी र कृषकहरुको पहुँच नपुग्नु, खेतीयोग्य जमिन खण्डीकरण भैरहेको अवस्थामा साना किसानका लागि उपयुक्त कृषि यन्त्रको पहिचान र विकास हुन नसक्दा समस्या भइरहेको छ।
पहाडी र विकट भएकाले कृषि क्षेत्रमा यान्त्रिकरण गर्न कठिनाइ छ। भने ग्रामीण पूर्वाधारको अभाव, उर्जा संकट आदिका कारण कृषि यान्त्रिकरणमा समस्या परेको अगुवा कृषक बिनोद कुवंरले बताए। कुवंरले गाउँका बारी अप्ठ्यारा भएकाले प्रयोग गर्न समस्या र वितरण गरिएका कृषि उपकरण पनि कम गुणस्तरिय तथा बिग्रिएमा पुन मर्मत गर्न गाह्रो हुने अवस्था रहेको बताए। ‘उपकरण पाउँदा खुसी नहुने कुरै भएन । तर, उपकरण गुणस्तरिय पाइन छोड्यो,’उनले भने,‘लागत बढि भएपनि ४÷५ बर्ष प्रयोग गर्न सकियोस् ।’ उनले भने।