काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले बोलाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा भन्छन्, राष्ट्रपति भण्डारीको बारेमा उनले दिएकोे निजि अभिव्यक्ति बारेमा स्पष्टता ल्याउनको लागि भाँक्रीलाई बोलाइएको हो । थापाले उनलाई अाज १० बजे बोलाएको बताए ।
झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् । उक्त कार्यक्रममा बोल्दै “राष्ट्रपतिका कुरा त के गर्नु ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ , बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर अब कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ”
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । ‘ भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् ।
नेकपाको ओली समूहले उक्त अभिव्यक्तिलाई आलोचना गरेकोे थियो, झाँक्रीलाई मनासिब कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो ।
मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन् ( बोल्न पाइन्छ ? ) झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउदै आएकी छन् ।
बुधबार राजधानीमा आयोजित प्रचण्ड नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको यस आरोपको विरोध गरेकी थिइन् ।
उनले भनिन् मलाई अहिले सम्म औपचारिक रुपमा जानकारी आएको भने छैन, यदि प्रहरीबाट खबर आयो भने म जान्छु ।