बुटवल-रूपन्देहीको बुटवल उपमहानगरपालिकाले अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न लगत संकलन र फाराम भर्ने कामलाई अगाडि बढाएको छ ।
उपमहानगरपालिकाका १९ वटै वडाहरुमा गणक परिचालन गरी अवेवस्थित नाममा बसोबास गर्दै आएका नागरीकहरुको तथ्याङक संकलन गरी फारम भर्न ६२ जना गणक परिचालन गरिएको छ ।
बुटवलको सबैभन्दा धेरै अवेवस्थित वडा नम्बर ११ मा रहेका छन् । ११ नम्बर वडामा १२ जना गणकहरू परिचालन गरिएको छ । अहिले बुटवल उपमहानगरपालिकामा १७ हजार भन्दा बढी अवेवस्थित बसोबासी रहेको नगरपालिकाको तथ्याङको उल्लेख छ ।
आइतबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले आगामी फागुन १९ गतेसम्म फारम भर्ने समय भएको बताए ।
‘सबै जनताहरुलाई सहज हुने गरी सुकुम्बासी समस्या समाधान गर्न उपमहानगरका सबै वडामा गणकहरु खटाएका छन’ रेग्मीले भने, ‘फारम भर्न कोही नछुटनुहोला । गणकसँगै विज्ञ टीम पनि हुन्छ । जनप्रतिनिधिहरू पनि संगै हुनुहुनेछ ।’ वडा नम्बर ११ मा मात्रै ७ हजार जनता सुकुम्बासी रहेका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गणकहरूलाई तथ्याङक उपलब्ध गराएर लाभान्वित हुन आग्रह गरे ।
त्यस्तै बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षको माघ मसान्त सम्म १ अर्ब २३ करोड आम्दानी गरेको छ ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तारिक स्रोत र ऋणसमेत गरी २ अर्ब १० करोड आम्दानी अनुमानित गरेको थियो । त्यसमध्ये ५८ दशमलव ७२ प्रतिशत अर्थात् १ अर्ब २३ करोड आम्दानी गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षको माघ मसान्तसम्म ५२ प्रतिशत आम्दानी भएकोमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५८ दशमवल ७२ प्रतिशत आम्दानी भएको नगरपालिकाका प्रवक्ता रेग्मीले बताए । त्यस्तै उनले चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६४ करोड ९६ लाख रुपैयाँ खर्च भएको बताए ।
चालू आर्थिक वर्षको माघ महिनामा मात्र २९ वटा योजनाहरु सम्पन्न भएका छन् भने ७१ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् । बुटवलमा धेरै विकास योजनाहरु अगाडि बढेका छन् ।