काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाजाँचमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई प्रहरीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ।
आस्थालाई काठमाडौं जिल्ला प्रशासनले सोमबार चार दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएपछि सोही अनुसार प्रहरीले कारबाही अगाडि बढाउने भएको छ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता होविन्द्र बोगटीले आस्थालाई थुनामा राखेर अनुसन्धान गर्न सिडिओ कार्यालयसँग अनुमति मागिएकाे जानकारी दिए।
उनी साेमबार बिहान ८ बजे महानगरीय प्रहरी परिसर टेकुमा आफैं हाजिर भएकी थिइन्।
गत माघ १ गते त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको थियो। सोका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियाे।
उनीविरुद्ध उक्त आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।
काठमाडौंबाट झापा भद्रपुर उडान भर्ने समय त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ। उनले यस सम्बन्धमा सामाजिक सञ्जालमा जानकारी गराउने क्रममा जथाभावी बोलेकी थिइन्।