काठमाडाैँ- सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै गृह मन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।
सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। सिमामा चेकजाँच गर्न र फेरी चाहिन सक्ने भएकाले क्वारेन्टाइन र आइसोलेसन अपडेट गर्न समेत निर्देशनमा भनिएको छ।
एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टिन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो।