कैलाली । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै ती राज्यहरुबाट स्वदेश फर्केका नेपालीहरुमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।
अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परेका छन् ।’
घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ ।