बुटवल- तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । एक अपसमा रंग अविर दलेर शुभकामना साटासाट गरि रुपन्देही, नवपरासी कपिलबस्तु सहित तराइका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ। यस अघि हिजो पहाडी जिल्लामा होली पर्व मनाइएको थियो ।
यसपाली कोरोनाको जोखिम बढेकाले होलीको रौनक भने कम छ। बुटवल भैरहवा लगायतका शहरमा तथा अन्य बजारहरुमा गत वर्ष जस्तो होलीको माहोल देखिएको छैन। आफन्त र छिमेकी माझ सिमीत संख्यामा जम्मा भएर मात्र होली खेलेको देखिएको छ।
सरकारले पनि सामुहिक रुपमा होली नमनाउन आग्रह गरेको छ।
भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेको छ। होलीको अवसरमा उश्रृङखल गतिविधि हुन नदिने प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, मोटर साइकिलमा तीन जना बसेर यात्रा गर्ने, जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गरिने जानकारी दिए। उनले त्यस्ता गतिविध हुन नदिन चोक चोकमा प्रहरी परिचालन गरिएको बताए।