भैरहवा –रुपन्देहीमा विगत केही दिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतमा तिव्र गतिमा बढेको संक्रमणले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय शुरु भइसकेको छ। संक्रमितको संख्या दिनहुँ बढेसँगै रुपन्देहीमा शुन्यमा झरेको संक्रमण विस्तारै उकासिदै गएको छ।
पछिल्लो ३ दिनमा रुपन्देहीको संक्रमण पनि तिव्र छ, बुधबार ६ जनामा देखिएको संक्रमण बिहीबार ९ जना र शुक्रबार थप १५ जनामा देखिएको छ । पछिल्लो एक सातामा रुपन्देहीमा मात्रै ३२ जना पुरुष र २४ जना महिला गरी ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । अहिले पहिला भन्दा अलि फरक प्रकृतिको संक्रमण छ, युवा तथा विद्यार्थीहरुमा बढि संक्रमण पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन तर बच्चा र तल्लो उमेर समूहमा संक्रमण देखिएको छ गिरीले भने।
अहिले विद्यार्थी समूहमा पनि संक्रमण देखिएको छ। ‘भैरहवामा संक्रमितको ट्रेसमा परेका विद्यार्थीहरुमा पनि थप संक्रमण पुष्टि भएकोले हामी सबै सतर्क हुन जरुरी छ’ गिरीले भने 'हामीले सबै स्थानीय तहलाई निगरानी बढाउने, बाहिरबाट आएकालाई क्वारेन्टिन गर्ने, संकास्पदको परिक्षण गरी आइशोलेशनमा राख्ने, कन्ट्रयाक्ट टे«सिङ गर्ने काम गरिरहेका छौ।' रुपन्देहीका ४ वटा ल्याबबाट परिक्षण पनि गरिरहेकाे र आरडिटी एन्टिजिन किटबाट पनि परिक्षणलाई पालिका स्तरसम्म पठाएकाे गिरीले बताए।
निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिर्पोट अनुसार रुपन्देहीका विभिन्न ५ स्थानीय तहमा १५ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
शाहका अनुसार सबै भन्दा बढि बुटवल उपमाहानगरपालिकामा ५ महिला र ४ पुरुष गरी ९ जना संक्रमित शुक्रबार थपिएका छन। त्यस्तै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा २ महलिा र १ पुरुष गरी ३ जना, सियारी, मायादेवी र कंचन गाँउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ हजार १ सय ९६ पुगेको छ।
कार्यालयले दिएको तथ्याङ अनुसार हाल सम्म १५६ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ८ हजार ९ सय ६९ जना निको भएर फर्किसकेका छन, ७१ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन।