काठमाडौँ – विश्वकप क्रिकेट लिग-२ मा नेपालले दोस्रो जित हात पारेको छ। आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले बुधबार अमेरिकालाई ८ विकेटले हरायो।
नेपालले पहिला ब्याटिङ गरेको अमेरिकालाई ३५ रनमा समेटेको थियो। नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो। पारस खड्का २० र दीपेन्द्र सिंह एेरी १५ रनमा अविजित रहे। सुबास खकुरेलले खाता खोल्न सकेनन् भने कप्तान ज्ञानेन्द्र मल्लले एक रन जोडे।
त्यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीलाई सबैभन्दा कम योगफलमा समेट्ने टोलीका रुपमा नेपालले श्रीलंकाको विश्व कीर्तिमान बराबरी गरेको थियो।
श्रीलंकाले जिम्बावेलाई सन् २००४ को अप्रिल २५ तारिखमा ३५ रनमा अलआउट गरेको थियो। त्यतिबेला जिम्बावे १८ ओभर टिकेको थियो। नेपालसामु अमेरिका १२ ओभर मात्र टिक्न सक्यो।
अमेरिकालाई सस्तोमा समेट्न सन्दिप लामिछानेले ६ र सुसन भारीले चार विकेट लिए। सन्दीप एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर हुन्।
उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिए। अर्का स्पीनर सुसनले ३ ओभरमा एक मेडन राखेर पाँच रन खर्चँदै चार विकेट हात पारे। सन्दीपले सातौँ र १२ औँ ओभरमा दुई दुई विकेट लिएका थिए।
सुसनले पनि ११ औँ ओभरमा दुई विकेट लिएका थिए। करन केसीले पहिलो ओभर मेडन फ्याँकेका थिए। दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले लगातार पाँच बल डट फ्याँकेर अन्तिम बलमा विकेट लिएका थिए।
तेस्रो ओभरमा अमेरिकाले करनलाई दुई चौका प्रहार गरेको थियो। त्यसपछि सन्दीप र सुसनको जोडी जमेको थियो। विश्वकप लिग-२ मा आफ्नो पहिलो त्रिकोणात्मक शृंखला समाप्तीमा नेपालले चार खेलबाट चार अंक जोडेको छ।
नेपालले विश्वकप लिग-२ मा कुल ९ वटा त्रिकोणात्मक एकदिवशीय शृंखला खेल्ने छ।