बुटवल-रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको अचानक मृत्यु भएको छ।
विद्यालयको होस्टेलमा बसेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किरातले जानकारी दिए। बिरामी भएपछि बिहान फोन गररे अभिभावकको जिम्मा लगाएका हौं। अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खबर आयो’, उनले भने ।
छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ। विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन्। बालिकामा ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या रहेको थियो।
बालिका बिरामी भएपछि विद्यालयले शनिबार अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो। विद्यालयबाट ल्याइएकी उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको मृतक बालिकाका आफन्त भास्कर भण्डारीले जानकारी दिए।